मुगु बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ३३ पुग्यो
सुर्खेत । मुगु बस दुर्घटनामा घाइते भएका थप एक जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनामा परी घाइते भएका मुगुको छाँयानाथ रारा नगरपालिका – १४ बस्ने २७ वर्षीय दन्त बुढाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मंगलबार दिउँसो ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गत असोज २६ गते मुगुको बस दुर्घटनामा हुँदा ३२ जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा परेर २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।मंगलबार बुढाको ज्यान गएसँगै दुर्घटनामा परेर ३३ जनाले ज्यान गुमाएका छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
