माओवादी सम्मेलनको कार्यतालिका परिवर्तन

तु खबर संवाददाता
२०७८ कार्तिक ३,बुधबार ०८:२२
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार, मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका परिवर्तन गरेको हो ।

पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै, टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म, वडा सम्मेलनको म्याद मंसिर ४ गतेसम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने प्रवक्ता महराले जानकारी दिए ।

त्यस्तै, मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने ९९ जनाको जेष्ठ कम्युनिस्ट मञ्च निर्माण गरेको छ । लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ ।

त्यस्तै, विशेष समिति १७५ सदस्यीय बनाएको माओवादीले जनाएको छ । बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले जानकारी दिए । माओवादीको अर्को बैठक कार्तिक ४ गते अर्थात बिहिबार बस्ने भएको छ ।