पहिरोमा पुरिएर २ बालबालिकाको मृत्यु
धरान । सुनसरीको धरानमा पहिरोमा परी २ बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका वडा नं १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको हो । मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
यसैबीच अविरल बर्षाका कारण महाकाली र जोगबुढा नदीमा पनि हालसम्मकै ठूलो बाढी आएको छ । बाढीले तटीय क्षेत्रको २ सय घर ढुबानमा परेका छन् । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको जनाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदी र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएको बताए ।
