मकवानपुरमा थप १३ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ कार्तिक २,मंगलवार १७:०८

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, संक्रमण पुष्टि हुनेमा मकवानपुरगढी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ३ सय २३ जना पुगेको छ । तीमध्ये हालसम्म १५ हजार ४३ जना संक्रमणमुक्त भएका छन् भने १६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका ६ जना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् ।

यस्तै, जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको  मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।