कात्तिक ९ गते बोलाएको प्रतिनिधिसभा बैठक सर्यो

तु खबर संवाददाता
२०७८ कार्तिक २,मंगलवार १५:३३

काठमाडौं । आगामी कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कात्तिक ९ गते बोलाइएको बैठक २ दिन पर सारेको हो । सभामुख सापकोटाले बैठक कात्तिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि सारेका हुन् ।

मंगलबार एक सूचना प्रकाशन गर्दै संघीय संसद सचिवालयले कात्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम कात्तिक ११ गते बिहिबार दिनको २ बजे बैठक बस्ने गरी बैठक निर्धारण गरेको सो सूचनामा उल्लेख छ ।

नवौं अधिवेशन अन्तरगत गत भदौ २३ गतेदेखि सुरु भएको उक्त अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ । आफ्नो दलले कारवाही गरेका १४ सांसदलाई जोगाएर पार्टी फुटाउन सभामुखले सहयोग गरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो ।