ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना
काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दूर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो ।
बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्याकरले मगाएर ट्रकलाई हटाइएको छ ।आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए । सुरुमा पैदल हिंडेर पनि वारिपारी गर्न सकिने अवस्था थिएन । अहिले भने सडक खुलेपछि अवस्था सामान्य छ, उनले भने । रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको उनले बताए ।
