भन्सार कार्यालय रसुवाद्वारा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजश्व संकलन
रसुवा । रसुवा भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थक बर्ष २०७८/७९ को असोज महिनामा लक्ष्यभन्दा ५९.१७ प्रतिशत बढी राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले असोजमा ५९ करोड १६ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले ९४ करोड १७ लाख ५१ हजार राजस्व संकलन गरेको छ ।
जुन मासिक राखिएको लक्ष्यको तुलनामा ३५ करोड ७५ हजार बढी हुन आउँछ । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साउन, भदौ र असोज गरि तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलब ३७ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ ।
यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेकोथिएन ।भन्सार कार्यालय रसुवाले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गरेको छ ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।
