भारतको जम्मु–कश्मीरमा एक सातादेखि भुठभेड जारी, २२ जनाले गुमाए ज्यान

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार १०:०९

काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९ जना भारतीय सेना र १३ जना आतंकवादी समूहका रहेका छन् । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एक जना जुनियर अफिसरसहित ५ जनाले ज्यान गुमाएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान हुँदा थप दुई जवानले ज्यान गुमाएका थिए ।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसैबीच कश्मीरको कुलमागमा आइतबार दुई जना गैरकश्मीरी नागरिकको गोली हानेर हत्या भएको छ । हत्या हुनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह रहेका छन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनको हत्या भएका एक घण्टापछि कश्मीरको पुलवामा सगीर अहमदको हत्या भएको थियो ।उनी काठको मिस्त्री थिए । उनीहरुलाई आतंकवादी समूहले गोली हानेर हत्या गरेको दाबी गरिएको छ ।

त्यसअघि शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो । सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मीरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन् । यो हत्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेशनको क्रममा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ । आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु–कश्मीरमा देश विरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ ।