मुगुको बस दुर्घटनाः मृत्यु हुनेको संख्या ३२ पुग्यो, प्रधानमन्त्री स्तब्ध
मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनास्थलमा २४ जनाको, उद्धारका क्रममा ताल्चा विमानस्थल पुर्याउँदै गर्दा ४ जनाको र थप उपचारका लागि नेपालगञ्ज पुर्याएपछि ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजे दुर्घटनामा परेको थियो । बसको अगाडिको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
तरपनि दुर्घटनाबारे थप अनुसन्धान नभई त्यसको कारण नखुल्ने प्रहरीको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । बसमा ४५ यात्रु सवार थिए । घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपाली सेनाले उद्धार गरेको थियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले मुगुसहित देशका विभिन्न ठाउँहरुमा भएका सडक दुर्घटनाले आफु स्तब्ध भएको बताएका छन् । सामाजिक संजालमार्फत् सडक दुर्घटनाबाट मृत्यु भएकाहरुप्रति प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली व्यक्त गरेका छन् । मृतकका परिवारहरुप्रति उनले समवेदना प्रकट गरेका छन् । दुर्घटनामा घाइतेको निशुल्क उपचार गर्ने प्रधानमन्त्री देउवाको घोषणा छ । मुगु कास्की र अछाममा सडक दुर्घटना भएको थियो ।