कांग्रेस मकवानपुरको विभिन्न वडामा चियापान तथा शुभकामना आदानप्रदान

विभिन्न पार्टी परित्याग गरी ६ सय ४२ जना कांग्रेसमा प्रवेश
तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार १८:१४

मकवानपुर । विजया दशमीको अवसरमा नेपाली कांग्रेस मकवानपुरले जिल्लाको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ र मकवानपुरगढी २ मा सोमबार गरिएको चियापानमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र राप्रपाका गरी ४ सय ७२ जना र आईतबार हेटौंडा उपमहानगरपालिका १७ मा गरिएको शुभकामना आदानप्रदानमा विभिन्न पार्टी परित्याग गरी १ सय ७० जना गरी ६ सय ४२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

हेटौंडा ८ मा कांग्रेसका वडा सभापति भुपेन्द्र कोइरालाको सभाध्यक्षता र हेटौंडा १७ मा वडा सभापति नवराज न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय तथा मकवानपुर गढी २ मा वडा सभापति रामप्रसाद पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिएर नवप्रवेशीलाई कांग्रेसमा स्वागत गरेका थिए ।

कांग्रेसमा स्वागत गर्दै केन्द्रीय सदस्य डिनाले कम्युनिष्टहरुको दोहोरो चरित्र, तानाशाही प्रवृत्ति र भ्रष्टाचारमा लिप्त भएका कारण अव जनताले उनीहरुलाई नेपालबाट पत्तासाफ पार्ने बताउँदै पार्टीको आन्तरिक निर्वाचनमा भएका निर्वाचित पराजित सम्पूर्ण नेता कार्यकर्ताहरुले विगतलाई भुलेर एक भई पार्टीलाई अव आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा मकवानपुर कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने बताए ।

त्यस्तै, कांग्रेस बागती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति बानियाँले अरु पार्टीको भन्दा कांग्रेसको नेता र नीति ठिक लागेर कांग्रेसमा जनलहर बढेको बताउँदै कम्युनिष्टहरुले लोभ, भ्रम र त्रास देखाएर जनतालाई शोषण गरिरहेकाले त्यसलाई चिर्न नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।

नेता बानियाँले नवप्रवेशीहरुलाई योग्यता, क्षमताको आधारमा पार्टीमा उचित स्थान दिईने बताउँदै कांग्रेसले झुटको खेति नगर्ने र बोलेको कुरा पु¥याउने पार्टी भएकाले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताए । हेटौंडा ८ मा कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन तथा अच्युतम पौडेलको अध्यक्षतामा ३१ सदस्यीय नेपाल तरुण दल ८ नम्वर वडा समितिसमेत पूर्नगठन गरिएको छ ।