स्वास्थ्य क्षेत्रको विकास सरकारको प्रमुख प्राथमिकता हो : विरोध खतिवडा

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार १७:५५

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मकवानपुरको हेटौंडास्थित जिल्ला अस्पतालको अवलोकन गरेका छन् । मन्त्री खतिवडाले सोमबार दिउँसो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको स्थलगत अवलोकन गरेका हुन् ।

उनले अवलोकनका क्रममा हेटौंडा अस्पतालको स्तरोन्नती र सेवा विस्तारको लागि सक्दो प्रयास गर्ने बताए । उनले अस्पताललाई आम नागरिकहरुको गुनासोरहित बनाउन आवश्यक काममा सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै सेवा विस्तारमा सक्दो प्रयास गर्ने बताए । उनले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै संकटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गरे । वर्षौदेखि काम गर्दै आएको करारका कर्मचारी, चिकित्सक, नर्स लगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यनाकर्षण हुने मन्त्री खतिवडाले बताए ।

त्यस्तै, मन्त्री खतिवडालाई सोमबार हेटौंडामा मकवानपुरका २१ वटा क्रियाशील संस्थाले स्वागत एवम् सम्मान गरेको छ । मकवानपुरको विकासमा महत्वपूर्ण योगदान पु¥यएको भन्दै ती संस्थाहरुले संयुक्त कार्यक्रम आयोजना गर्दै मन्त्री खतिवडालाई स्वागत एवम् सम्मान गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले समग्र देशको स्वास्थ्य क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले मकवानपुर मात्र नभइ देशभरको ७७ वटै जिल्लाको स्वास्थ्य क्षेत्रको विकास आफ्नो जिम्मेवारी भएको बताए । उनले कोरोनाका कारण बालबालिकाहरु निकै नै जोखिम रहेकाले आगामी केही समयमा नै बालबालिकाहरुका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने गरी सरकारले काम गरिहेको जानकारी दिए । उनले बालबालिकाका लागि कोरोना विरुद्धको ४० लाख डोज खोप सम्झौता भइसकेको र थप ६० लाख डोज खोप भित्राउने प्रक्रिया जारी रहेको बताए ।