हेटौंडाको आर.के. पसलमा आगलागी, १० लाखको क्षति

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार ०९:५०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेस्थित चन्द्रोदय माविको व्यसायिक भवनमा रहेको एक किराना पसलमा आगलागी भएको छ । रामकृष्ण लामिछानेले संचालन गरेको आर.के. किराना पसलमा आज बिहानै आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुजा गर्ने क्रममा आगलागी भएको सूचना पाएलगतै प्रहरी टोली, बारुणयन्त्र, हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा एक घण्टापश्चात नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, किराना पसलमा ७ वटा ग्यास सिलिन्डर समेत रहेकोले सिलिन्डर विस्फोट भएर आगलागी नियन्त्रणमा कठिनाइ भएको जनाइएको छ ।

पुजा गर्ने क्रममा आगोलागी हुँदा १ तल्ले भवन जर्ण भएको छ । आगलागीबाट पसलमा रहेको सबै किराना सामान, फर्निचरलगायत गरेर १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।