माधव नेपालले बोलाए आफ्नो पार्टीका मन्त्रीलाई

तु खबर संवाददाता
२०७८ आश्विन २४,आईतवार १०:१६
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आज (आइतबार) बिहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालय बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपालले शनिबार पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए । त्यसमा थप निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको उनले बताएका थिए । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडा, शहरी विकास मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी कृष्णप्रसाद श्रेष्ठ (किसान) ले पाएका छन् । यसैगरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ भएका छन् ।