मैले कांग्रेस छाडेको छैनः नेतृ रुम्बा
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि शान्तिकुमारी रुम्बाले आफूले नेपाली कांग्रेस नछाडेको बताएका छन् । रुम्बाले शनिबार कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई विकास निर्माणको कार्यक्रम बारे छलफल गर्न भन्दै बोलाएर नेकपा एमाले प्रवेश गरेको भनि भ्रम फैलाउन खोजिएकोप्रति आपत्ती जनाएका छन् ।
कांग्रेस भीमफेदी गाउँपालिका सदस्य एवं क्षेत्रीय प्रतिनिधिसमेत रहेकी उनले प्रेस विज्ञप्ती निकाल्दै आफू नेपाली कांग्रेसमा रही निष्ठापूर्वक पार्टीको विभिन्न सांगठानिक गतिविधिहरुमा हिजोदेखि लागिरहेको र भोलीसम्म पनि लाग्ने बताइन् । केहीदिन अघि विकास निर्माणको कार्यक्रमबारे छलफल गर्न भन्दै भीमफेदी–९ झिरघारीमा बोलाईएको भेलामा उपस्थित हुँदा कांग्रेसको प्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्ने समाचारहरु विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा प्रकाशित भएको बारे खण्डन गर्दै रुम्बाले शनिबार पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ती जारी गरेकी हुन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला सदस्य मिरा स्याङतान, हेटौंडा उपमहानगरपालिका सभापति उत्सव ईटेनी, निवर्तमान नगर सभापति आनन्दराम पराजुली, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, उपसभापति सुमित्रा थिङ, सहसचिव मञ्जु भ्लोन, भीमफेदी ५ का वडा सभापति अंकित पुडासैनी, ९ नम्बर वडा सभापति राजकुमार पुडासैनीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

