पत्रकारलाई सार्वजनिक वित्तसम्बन्धी तालिम

तु खबर संवाददाता
२०७८ आश्विन २३,शनिबार ०७:५७

मकवानपुर । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय (पेफा) सँगको सहकार्यमा शुक्रबार तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटनमा सेजनका अध्यक्ष जनदिन बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पेफा सचिवालयका सदस्यसचिव गोरखबहादर शाहीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । तालिममा पेफा सदस्यसचिव शाहीले सार्वजानिक वित्त व्यवस्थापन सम्बन्धमा हालसम्मका व्यवस्थाहरु (संविधान, ऐन, कानुन, नियम निर्देशिकाहरु) र समस्या तथा चुनौतीहरुका बारेमा कार्यपत्र प्रस्तुत  गरेका थिए ।

यस्तै, बागमती प्रदेश लेखा नियन्त्रक हरि उपाध्यायले प्रदेशको बजेट खर्च प्रणाली तथा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने कामहरुको बारेमा प्रस्तुत गरेका थिए । नेपाल सरकारका पूर्वसचिव सुशील पाण्डेले केन्द्रीय तथा प्रदेशको बजेट, अनुदान प्रणाली, पुँजीगत खर्च, बजेट घाटा, यसका समस्या र अभ्यासका बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै, सेजनका निवर्तमान अध्यक्ष भीम गौतमले सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी हाल भइरहेको रिपोर्टिङ तथा पत्रकारले खोज्नु पर्ने विषयहरुका बारेमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराम गौतमलगायतको आतिथ्यता रहेको थियो ।