बागमती प्रदेशः मुख्यमन्त्रीद्वारा विश्वासको मत लिन प्रस्ताव पेश

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १६:०३

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गरेकी छन् । विश्वासको मत लिन शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव बुझाएका हुन् ।

शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छिन् ।

शाक्यले विश्वासको मत लिन प्रदेश सरकारले असोज २४ गते प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । नयाँ प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् ।