राजेन्द्र पाण्डेले पाउने भए बागमतीमा मुख्यमन्त्री

तु खबर संवाददाता
२०७८ आश्विन २१,बिहीबार १८:२४

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बागमती प्रदेशमा मुख्यमन्त्री पद पाउने भएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बागमती प्रदेशमा मुख्यमन्त्री दिने निर्णय गरेको हो ।बैठकले समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री दिने निर्णय गरेको हो ।

यसअघि नै एकीकृत समाजवादी पार्टीले पाण्डेलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ । प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था छ । बागमती प्रदेशमा हाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ । गत भदौ २ गतेमात्रै मुख्यमन्त्री पदमा नियुक्त भएकी शाक्य नेकपा एमालेका हुन् । उनी माधवकुमार नेपाल पक्षबाटै मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । तर, नेकपा (एकीकृत समाजावादी) पार्टी गठन भएपछि उनी एकीकृत समाजवादीमा नगई एमालेमा नै बसेकी हुन् ।

मुख्यमन्त्री शाक्यले यही असोजको अन्तिम साता विश्वासको मत लिने तयारी गरेको छ । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेको स्पष्ट बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । यसअघि नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएपनि अब गठबन्धनमा सहभागी जुटेसँगै पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।