मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार प्रसाईको श्रीमती पनि नियुक्त !
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले श्रीमती कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका छन् । प्रदेशको लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्ती गर्नुपर्ने प्रावधान मिचेर प्रतिष्ठानले विभिन्न पदमा विज्ञापन गरेको थियो ।
रजिष्ट्रार आफैँ परिक्षा प्रक्रियामा सहभागी भएको प्रतिष्ठान स्रोतले तु खबरलाई जानकारी दिएको छ । प्रतिष्ठानको कर्मचारी पदपूर्ति समितिको संयोजक प्रसाई आफै हुन् । सो समितिको सदस्य सचिवमा प्रतिष्ठानका प्रशासकीय अधिकृत अमर अधिकारी, सदस्यमा प्रतिष्ठानका संयोजक चिरञ्जिवी चुडाल र अन्य विज्ञ रहेका छन् । प्रतिष्ठानले गत असोज १२ र १३ गते क्रमश लिखित र मौखिक परिक्षा संचालन गरेको थियो । उक्त परिक्षाको नजिता बुधबार सार्वजनिक गरिएको थियो । सो नतिजा अनुसार रजिष्ट्रार प्रसाईको श्रीमती कमला प्रसाई निरौला कार्यालय सहायक पदमा नियुक्त भएकी छिन् ।
यस विषयमा रजिष्ट्रार प्रसाईसंग प्रतिक्रिया लिँदा उनले आफ्नो श्रीमती भएपनि प्रसाईलाई उनको योग्यताकै आधारमा नियुक्त गरिएको
बताए । आफ्नो श्रीमतीले जागिर खान नपाउने कुरा कुनै कानूनमा नखेलिएको भन्दै लेखिएको भए त्यस्तो प्रावधान देखाउन उनले चुनौती दिए । आफु परिक्षाको कुनै प्रक्रियामा सहभागी नभएको बताउँदै उनले योग्यताको आधारमा आफ्नो श्रीमतीको नाम निस्किएको दावी गरे ।
