८ मिनेटमै सकियो प्रतिनिधिसभा बैठक

तु खबर संवाददाता
२०७८ आश्विन १९, मंगलवार १५:०८

काठमाडौं । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठक ८ मिनेटमा नै सकिएको छ । दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटले सदनको कारबाही सुरु भएको जानकारी गराउने बित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।सभामुख सापकोटाले पटक–पटक सभाको बैठक सुरुचारु गर्न दिन आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी गर्न छाडेनन् ।

सभामुखले संविधानको धारा १०५ मा भएको व्यवस्था अनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने स्मरण गराए । यस्तै उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ख ग र घ मा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गरे । एमालेले कारवाही गरेका १४ संसदमाथिको कारवाहीको सूचना टाँस वा सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ । यसअघि पटक–पटक बसेको प्रतिनिधसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी लगाउँदै आएका थिए ।

एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ को प्रस्तुत गर्न समय दिए । कार्कीले सो प्रतिवेदन पेश गरेसँगै सभामुखले आजको बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको अर्को बेठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।