हेटौंडाका सबै सामुदायिक विद्यालय दशैंपछि पनि खुल्ने

तु खबर संवाददाता
२०७८ आश्विन १९,मंगलवार ०९:३७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालय दशैपछि संचालनमा आउने भएका छन् । सोमबार बसेको हेटौंडा नगर क्षेत्रभित्र रहेको ७७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले दशैं विदा पछि पनि स्वास्थ्य समाधानी अपनाएर भौतिक उपस्थितिमा नै पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

पछिल्ला केही वर्षदेखि हेटौंडा नगर क्षेत्रका विद्यालय दशैं र तिहारको बीचमा विदा हुने गरेको थियो । बैठकले अहिले कोभिड–१९ संक्रमणको जोखिमका कारण गरिएको निषेधाज्ञाले ढिला विद्यालय खुलेकोले दशैं विदापछि पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । शिक्षा महाशाखाले जनाएको छ ।

बैठकमा दशैं र तिहारको बीचमा विद्यालय संचालन गर्ने कि नगर्ने, विद्यालय सुधार योजना सम्बन्धमा विद्यालयमा दिवा खाजा कार्यक्रम, छात्रवृत्ति वितरण, नयाँ पाठ्यक्रमका सम्बन्धमा छलफल भएको शिक्षा महाशाखाले जनाएको छ । त्यस्तै, हेटौंडा उपमहानगरपालिकाले आज (मंगलबार) संस्थागत विद्यालयका प्रधानाध्यापकलाई बैठकमा बोलाएको छ ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि करिब ५ महिना बन्द भएको विद्यालय गत भदौ २७ गतेदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गरेको थियो । कोरोना भाइरस कायमै भएको बेलामा विद्यालय कसरी संचालन भइरहेको छ र कस्ता समस्याहरु आइपरेको छ भन्ने विषयमा बुझ्न पनि उपमहानगरले प्रधानाध्यापकहरुलाई बोलाइको जनाइएको छ ।