मकवानपुरमा थप ८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ४६ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा र १९ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ६४ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ९ सय १० जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना, थाहानगरपालिका र कैलाश गाउँपालिकाका एक/एक जना रहेका छन् ।
यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६५ जना पुगेको छ । जिल्लामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय ६५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज संक्रमणका कारण हेटौंडाका एक जनाको मृत्यु भएको हो । जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृतयु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
