३ महिनापछि संचालनमा आयो मनाङ् जोड्ने सडक
काठमाडौँ । लामो समयदेखि अवरुद्ध बनेको मनाङको सडकखण्ड ३ महिनापछि सञ्चालनमा आएको छ । मनाङको भ्राताङ भीरमा पहिरोले पु¥याएको क्षति मर्मत गरिएपछि सडक सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । भ्राताङ भीरको सडक मर्मत भएपछि मनाङको चामे गाउँपालिका र डिस्याङ गाउँपालिका जोडिएको सिडिओ लामिछानेले बताएका छन् ।
उनका अनुसार बेंशीसहर–चामे जोड्ने सडकखण्ड भने अझै सञ्चालनमा आइसकेको छैन । तर, उक्त सडकखण्ड पनि १–२ दिनभित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत नभइसकेकाले खुल्न अझै केही समय लाग्ने सिडिओ लामिछानेले सुनाए । ‘त्यहाँ काम भइराख्या भएपनि अझै केही अवरोध छ । दसैंभन्दा अघि नै खोल्ने गरी प्रयत्न गरिराखेका छौं,’ उनले भने । जिल्लाको मूलबाटो खुले पनि अन्य शाखा बाटामा घोडा, खच्चड हिँड्न मिल्ने भएपनि पूर्णतः खुल्न बाँकी रहेको उनी बताउँछन् ।
जिल्लाको मुख्य सडक सञ्चालनमा आएपछि अहिले साना गाडीहरु आउन सहज भएको सिडिओ लामिछानेले जानकारी दिए । उनले भने, ‘अहिले साना गाडीहरु आइरहेका छन् । तर, विस्तारै ठूला गाडी पनि आउन सक्ने परिस्थिति बन्दैछ । समस्या छैन ।’ मनाङ जाने बाटो खुलेपछि पर्यटक पनि बढ्न थालेका छन् । सडक खुलिसकेपछि आइतबारसम्म त्यहाँ स्वदेशी तथा विदेशी गरी ७० जनाभन्दा बढी पर्यटक पुगिसकेको सिडिओ लामिछानेले जानकारी दिए ।
मनसुनको सुरुआतमै आएको बाढीपहिरोले मनाङले ठूलो क्षति व्यहोरेको थियो । बाढी, पहिरोले सडक तथा पुलमा क्षति पुर्याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सम्पर्क विच्छेद हुन पुगेको थियो । बाढीपहिरोले भौतिक क्षति पु¥याएपछि आवतजावतका साथै खाद्यान्न ढुवानीमा समस्या परेको थियो ।
