न्यादी हाइड्रोपावरको आईपीओ कति कित्ता भर्ने ?

तु खबर संवाददाता
२०७८ आश्विन १५,शुक्रबार ०९:१८
file-photo

काठमाडौँ । सर्वसाधारणको लागि आजबाट न्यादी हाइड्रोपावर लिमिटेडले सेयर बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउने भएका छन् । निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।