हेटौंडामा निःशुल्क मुटुरोग शिविर संचालन हुँदै

तु खबर संवाददाता
२०७८ आश्विन १४, बिहीबार १७:५६

मकवानपुर । हेटौंडामा आगामी असोज १६ गते निःशुल्क मुटुरोग शिविर संचालन हुने भएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालले आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

सम्मेलनमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डण्ट डा. रामचन्द्र सापकोटाले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौंका मुटुरोग विशेषज्ञबाट शिविर हुने जानकारी दिए । उनका अनुसार, शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा ७ जना डाक्टर र ४ जना प्राविधिकहरुसहित ११ जनाको टोली शिविरमा उपचार गरिनेछ ।

जिल्लाको १० वटै स्थानीय तहका स्वास्थ्य शाखाको समन्वयमा निःशुल्क सेवा प्रदान गरिने उनको भनाई छ । शिविरका लागि टिकटदेखी इसिजी, ईको, प्रसेस सुगर, एक्सरे र आवश्यक परेमा रगतको पनि निःशुल्क सेवा प्रदान गरिने डा. सापकोटाले बताए । साथै ल्यावमा परीक्षण र औषधी समेत निः शुल्क उपलब्ध गराइने जनाएको छ ।

प्रतिष्ठानमा इको गर्ने मेशिन नभएकाले बाँसबारीबाटनै डाक्टरहरुको टोलीले ५ वटा इसिजी मेशिन र १ वटा इको मेशिन ल्याई उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, अब हेटौंडा अस्पतालमा हरेक शनिबार क्यान्सर र मुटुको उपचार गरिने छ ।