बुद्ध एयरको एटीआर–७२ को पाइलटलाई प्रतिबन्ध

तु खबर संवाददाता
२०७८ आश्विन १४, बिहीबार १७:३३
file-photo

काठमाडौं । बुद्ध एयरको एटीआर–७२ विमानका क्याप्टेनसहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको जनाएको छ । तर, उक्त जहाज अहिले नियमित उडानमा छ । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार अब प्राधिकरणले बुद्ध र प्राधिकरणकै टीमले दिने प्रतिवेदन अध्ययन गरेर उनीहरुको लाइसेन्स फुकुवा गर्नेछ । यो काम एक÷दुई दिनमै हुने उनले बताए ।

गत सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाजमा पांग्रा खुलेको जनाउन दिने इन्डिकेटरले काम नगरेको भन्दै जहाज काठमाडौं फिर्ता भएको थियो । पछि पांग्रा खुलेको देखिएपछि जहाजलाई काठमाडौं सुरक्षित अवतरण गराइएको थियो । उक्त जहाजमा ७३ जना यात्रु रहेका थिए ।