दसैँअघि ३३ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइने : राज्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको बताएका छन् । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले हाल दैनिक ३ लाख जनतालाई कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिँदै दशैँ अगाबै ३३ प्रतिशत नागरिकलाई खोप लगाइने बताएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले हाल फ्रन्ट लाईनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको बताए । १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको उनले बताए । साथै उनले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।
वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए । राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागि परेको बताए ।
