नेपाल रेडक्रस सोसाइटीलाई एक लाख मात्रा भेरोसेल खोप प्रदान

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १४:३९
file-photo

मकवानपुर । चिनियाँ रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई एक लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप सहयोग उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारिले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका मानवीय सेवाको गतिविधिका बारेमा राज्यमन्त्री श्रेष्ठलाई जानकारी दिएका थिए । राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पुर्याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गरे ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्ण मात्राको कोरोनाको खोप लगाइसकिएको छ । हालसम्म ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् भने रुकुम पूर्व, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।