कांग्रेस मकवानपुरको १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न, हेटौंडाको सभापतिमा इटेनी

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार १५:३९

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार मकवानपुरको १० वटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको स्थानीय तहमा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

कांग्रेस मकवानपुरका अनुसार, अधिवेशानबाट जिल्लाको बकैया र ईन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र हेटौंडा उपमहानगरपालिकासहित अन्य स्थानीय तहमा निर्वाचन प्रकृयाबाट कार्यसमिति चयन गरेको हो । जिल्लाका १०२ वटा वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि र सभापतिहरुले पालिकाको नयाँ कार्य समिति चयनका लागि मतदान गरेका थिए ।

जिल्लाको सबैभन्दा धेरै मतदाता भएको कांग्रेस हेटौंडाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् । शनिबार हेटौंडा सम्पन्न १४ औं नगर अधिवेशनबाट सभापतिमा इटेनी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी महेन्द्र राउत १५२ मत अन्तरले पराजित गरेका हुन् । सभापति इटेनीले २८४ मत प्राप्त गरेका थिए भने राउतले १३२ मत प्राप्त गरेका थिए । यसैगरी, कांग्रेस हेटौंडाको उपसभापतिमा डोल्मा स्याङ्बो र रामकृष्ण कोइराला, सचिवमा सविन न्यौपाने र रत्न लामा, सह–सचिवमा विकास बानियाँ र निगम श्रेष्ठ निर्वाचित भएका छन् । ४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो ।

यस्तै, कांग्रेस थाहा नगरपालिकाको सभापतिमा प्रमोद जोशी निर्वाचित भएका छन् । शनिबार भएको १४ औं नगर अधिवेशनबाट निकटतम प्रतिद्वन्दी भरत गोपालीलाई २८ मत अन्तरले पराजित गर्दै सभापतिमा जोशी निर्वाचित भएका हुन् । सभापति जोशीले १०९ मत प्राप्त गरेका थिए भने गोपालीले ८१ मत प्राप्त गरेका थिए । यस्तै, कांग्रेस थाहा नगरको उपसभापतिमा नवराज कार्की र उद्धब लामिछाने, सचिवमा भिमसेन मोक्तान र कर्णबहादुर गोपाली, सह–सचिवमा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । थाहा नगर समितिका लागि ५३ जना सदस्यहरुमा सबै सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै, कांग्रेस मनहरीको सभापतिमा प्रकाश बर्तौला, कांग्रेस भीमफेदीको सभापतिमा सञ्जिव श्रेष्ठ, कांग्रेस मकवानपुरगढीको सभापतिमा राजवीर मोक्तान, कांग्रेस बागमतीको सभापतिमा फणिन्द्र तिमल्सिना, कांग्रेस कैलाशको सभापतिमा राजेन्द्र घिसिङ र कांग्रेस राक्सिराङको सभापतिमा विरेन्द्र जिम्बा निर्वाचित भएका छन् भने कांग्रेस बकैयाको सभापतिमा दिलबहादुर भोम्जन र कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्व लामा चयन भएका छन् ।

उनीहरु शनिबार भएको कांग्रेसको १४ औं गाउँ अधिवेशनबाट निर्वाचित तथा सर्वसम्मत सभापति पदमा चयन भएको कांग्रेस मकवानपुरले जनाएको छ । यस्तै, उक्त अधिवेशनबाट विभिन्न गाउँपालिकाको उपसभापतिमा २ जना, सचिवमा २ जना र सह–सचिवमा २ जना निर्वाचित तथा सर्वसम्मत चयन गरेको जनाइएको छ ।