एक हप्ताभित्र हामी सरकारमा सहभागि हुन्छौँ – माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आज पोखरामा आयोजित एक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसंगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागि हुने तयारी भइरहेको बताए । उनले मन्त्रिपरिषद्मा समुचित तरिकाले सबैलाई समावेश गरिने योजना रहेकोसमेत बताए ।
उनका अनुसार प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको सुनाए । ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ उनले भने । गण्डकी प्रदेशमा भने ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उनले बताए । ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’
