हेटौंडामा संविधान दिवसको अवसरमा दौड प्रतियोगिता
मकवानपुर । हेटौंडामा संविधान दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवस २०७८ को अवसरमा शनिबार हेटौंडामा ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिता संविधान दिवस, २०७८ मुल आयोजक समिती बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा भएको हो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीका महेश मोक्तान प्रथम भएका छन् । उनले ५ कि.मि. दुरी १६ मिनेट २१ सेकेण्ड ८८ मिलिसेकेण्डमा पार गरेका थिए ।
यस्तै, प्रतियोगिताको द्धितिय र तृतीय क्रमशः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्याम कुमार राई भएका छन् । साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्डमा पार गरेका थिए भने राईले १७ मिनेट १६ सेकेण्ड ५३ मिलिसेकेण्डमा दुरी पार परेका थिए ।प्रतियोगितामा प्रथम भएका मोक्तानलाई १५ हजार रुपैयाँ, द्वितीय भएका साहलाई १० हजार रुपैयाँ र तृतिय भएका राईलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । उनीहरुलाई आइतबार मुख्यमन्त्री कार्यालय परिसरमा संविधान दिवसको अवसरमा हुने मुल समारोह कार्यक्रममा पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ५० जनाको सहभागिता रहेको जिल्ला एथलेटिक्स संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए ।
