‘माधव नेपालकै आग्रह अनुसार मुख्यमन्त्री बनेको हुँ , विश्वासको मत चाँडै लिन्छु’
मकवानपुर । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती सरकार अल्पमतमा रहेको भन्दै चाँडै नै विश्वासको मत लिने बताएकी छिन् । हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालकै आग्रहमा आफुले प्रदेश सरकारको नेतृत्व गरेको भन्दै उनले माधव पक्षबाट पनि सहयोग प्राप्त हुने बताएकी हुन् ।
आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेकोसमेत बताइन् । उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आफुले आग्रह गरेको पनि बताइन् । उहाँले आफ्नै पार्टी दर्ता गरिसक्नुभएको छ । अब फर्कने नफर्कने उहाँकै कुरा हो । उनले भनिन् ।
आफूलाई माधव नेपालले नै सरकारमा जान सुझाव दिएको बताउँदै उनले त्यसबेला नेकपा एकीकृत समाजवादी पनि दर्ता भइनसकेको स्मरण गरिन् । अहिले १३ जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीतर्फ गएर नै अल्पमतमा परेकी हुँ । उनले भनिन्, माधव नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर भएको छ । एमालेको उपलब्धी र योगदानलाई बचाई राख्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई मैले आग्रह गर्दै आएको छु । उनले बागमती प्रदेश सरकारको आयु लामो नभएकोतर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन् ।
पार्टी विभाजन पछि एमालेले बागमती प्रदेशमा माधव नेपाल पक्षको सांसद जोगाइराख्न शाक्यलाई मुख्यमन्त्रीको अफर दिएको थियो । प्रदेशमा नेपाल पक्षको नेतृत्व संहालेर बसेकी शाक्यलाई भदौ २ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो । उनलाई सरकारको नेतृत्व हस्तान्तरण गरेपछि प्रदेशमा आफ्ना सांसद् सुरक्षित गर्न सकिन्छ भन्ने एमालेको बुझाइ रहेको भएपनि माधव पक्षका अर्का प्रभावशाली नेता राजेन्द्र पाण्डेसंगै १३ जना एकीकृत समाजवादी पार्टीतिर गएका छन् ।
बागमती प्रदेशमा कूल ११० मध्ये हाल १०९ सांसद छन् । सरकारको नेतृत्व गर्न ५५ जना सांसदको साथ आवश्यक पर्दछ । एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यलाई अब ४३ जनाको मात्रै साथ देखिन्छ । संयुक्त गठबन्धनका दलहरु माओवादी केन्द्र र कांग्रेसले पनि शाक्यलाई सहयोग गर्ने संभावना न्यून छ । अन्य स–साना दलहरुले पूर्ण सहयोग गर्दा पनि उनको पक्षमा बहुमत पुग्दैन । अर्थात शाक्य नेतृत्वको सरकार चाँडै ढल्ने निश्चित छ ।
यदि, शाक्य एकीकृत समाजवादीमा आए कांग्रेस र माओवादीसमेतको समर्थन रहने भएकोले उनको सरकार टिक्ने स्रोत बताउँछ । तर, शाक्यले माधव नेपालकै सुझावमा आफु मुख्यमन्त्री बनेको र नेता नेपालसमेत एमालेमा फर्कनुपर्छ भन्दै अभिव्यक्ति दिएपछि राजनीतिक बृत्तमा बहस सुरु भएको छ । उनले आफुलाई माधव नेपालले साथ दिने दावी गर्दै आएको भएपनि संभावना न्यून देखिन्छ ।
