माधव नेपाल एमालेमै फर्कनुहुन्छ – योगेश भट्टराई
मकवानपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुरानै दलमा फर्कने दावी गरेका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बोल्दै भट्टराईले माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेको भएपनि उनले पार्टीभित्र पर्याप्त छलफल नगरी नयाँ दल गठन गरेको बताए ।
माधव नेपालको गतिविधि राम्रो भएन, त्यसकारण एकीकृत समाजवादी भन्दै उनको पछि नलाग्न म आग्रह गर्दछु, उनले भने । भट्टराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे । एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि सचिव भट्टराईले बताए । उनले गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको भनिएको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउने भएकाले आफू यसको विपक्षमा उभिने स्पष्ट पारे ।
