राप्रपाको जिल्ला अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थपियो

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १६:२९
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला तहसम्मको अधिवेशन गर्ने समय थप गर्ने निर्णय गरेको छ । बिहिबार पार्टीका त्रय अध्यक्षहरु क्रमशः प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको सांगठनिक तह निर्वाचन सम्बन्धी बिनियमावली २०७७ परिच्छेद ३ को दफा १९० (ग) लाई थप गरिएको छ । जसमा सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ ।

साथै सम्बन्धित प्रदेशसभा अन्तर्गतका सवै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिबेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन् । तर, पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेका व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने जनाइएको छ । राप्रपाले आगामी कार्तिक २७ गते महाधिवेशन गर्ने तय गरेको छ ।

हेर्नुहोस् बैठकको निर्णय ।