डिभिजन कार्यालयले भन्यो – एक महिनाभित्र हेटौंडाको सडक विस्तार हुन्छ

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १८:१२

मकवानपुर । डिभिजन सडक कार्यालय हेटौंडाले एक महिना भित्रमा पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारको काम सुरु हुने जनाएको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले सडक क्षेत्रभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सूचना जारी भइसकेको र एक महिना भित्रै विस्तारको काम सुरु गरिने बताए ।

सडक विभाग आयोजना निर्देशनालय (एडिबी) काठमाडौँले करिब १ महिना अघि सूचना जारी गरेर सडक विस्तारबाट चितवन, बारा र मकवानपुरलगायतको क्षेत्रमा पर्ने प्राकृतिक, भौतिक, जैवीक, सामाजिक साँस्कृतिक र आर्थिक प्रभावबारे सुझाव संकलन गरिरहेको बताउँदै उनले सो सुझाव प्राप्त हुनासाथ सडक विस्तारको कामले तीब्रता पाउने बताए ।

एडिबीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको ३ वटा, मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १० वटा र मनहरी गाउँपालिकाको ४ वटा, चितवनको राप्ती नगरपालिकाको ८ वटा, खैरहनी नगरपालिकाको ४ वटा, रत्नपुर नगरपालिकाको ६ वटा र भरतपुर महानगरपालिकाको २ वटा वडामा पर्ने प्रभावबारे सुझाव संकलन अन्तिम चरणमा पुगेको जनाइएको छ । सूझाव संकलन सकिएपश्चात पूर्वपश्चिम राजमार्ग स्तरोन्नती आयोजना अन्तरगतको प्रस्तावित पथलैया–हेटौंडा– नायारणगढ सडकखण्डको विस्तारको काम अघि बढाइने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको साथ

सडक विस्तारको काममा हेटौंडा उपमहानगरपालिकाको पूर्ण समर्थन रहेको मेयर हरिबहादुर महतले जानकारी दिएका छन् । उनले उपमहानगरपालिकाले नगरसभाबाटै पारित गरेर सडक विस्तारको काम अघि बढाउन पहल गरिरहेको बताएका छन् ।

मेयर महतले केही दिन अघि मात्रै पत्रकार सम्मेलनमार्फत बजार क्षेत्रमा सडक फराकिलो पार्न आवश्यक रहेको र त्यसका लागि उपमहानगरपालिकाले पहल जारी राखेको बताएका थिए ।

उनले सरकारले सडक सीमा मिचेर निर्माण गरेको घर टहरालगायतका संरचना भत्काउन सुरु गरेमा हेटौंडा उपमहानगरपालिकाले बजार र सडक क्षेत्रको सरसफाई तथा सुन्दरताको लागि नगरवासीसंग समन्वय गर्नेसमेत बताएका छन् । उपमहानगरले सडक विस्तार अपरिहार्य भएको भन्दै विस्तारको काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव समेत दिएको थियो ।

तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीले सडक विस्तारको काम अघि बढाएको भएपनि हेटौंडा बजार क्षेत्रका वासिन्दाहरुले अदालतमा मुआब्जा बिना घर टहरा भत्काउन नमिल्ने भन्दै अदालतमा रिट निवेदन दायर गरेसंगै यो कार्य रोकिन पुग्यो ।

नगरवासीद्वारा कवुलियतनामा

२५ मिटर क्षेत्रभित्र पर्नेगरी घरटहरा निर्माण गर्न तत्कालिन हेटौंडा नगरपालिकाले रोक लगाएको थियो । उसले मुख्य राजमार्गको दाँया/बायाँ ३१ मिटर छाडेर मात्रै संरचना निर्माण गर्न आग्रह गरेको थियो । तर, नगरवासीहरुले तत्कालिन श्री ५ को सरकार वा हेटौंडा नगरपालिकाले जुनसुकै प्रयोगनको लागि चाहेको खण्डमा हामी मुआब्जासमेत नलिई आफैँ र आफ्नै स्रोतले घरटहरा भत्काइदिने छौँ । हामीबाट कुनै अवरोध हुनेछैन भन्दै कवुलियतनामा गरेका थिए । त्यसपछि नगरपालिकाले सडकको दायाँ/बाँया घर टहरा बनाउन अनुमति दिइएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहबरमा तत्कालिन समयमा २ सय ५३ जना धरधनीले उक्त कवुलियतनामा हस्ताक्षर गरेका छन् । सो कवुलियतनामा सुरक्षित रहेको उपमहानगरपालिकाले जनाएको छ । क्रमश वडा नम्वर १ को ६०, २ को ४८, ३ को १२, ४ को ५२, ८ को ६३ र १० को ५३ जना घरधनीले सो सम्झौतामा हस्ताक्षर गरेको अभिलेख फेला परेको छ ।

राष्ट्रिय राजमार्गको दायाँ/बायाँका प्रभावित घरहरु भत्कने हल्लाले लामो समयदेखि मुख्यबजार क्षेत्रमा घरजग्गा विक्रि हुन सकेको छैन । नयाँ संरचना निर्माणको क्रम रोकिँदा दशकौ अघि बनेका जीर्ण भवनहरुले राजमार्गको दायाँबाँयाका भाग ओगटेका छन् । भवन तथा संरचना बैँकले धितो राख्ने मानिरहेका छैनन् । घर मर्मत र थप निर्माण गर्न अनुमति पाइने अवस्था छैन ।

जीर्ण र पुराना संरचनाले प्रदेशको राजधानीसमेत रहेको हेटौँडालाई गिज्याइरहेको छ । सडक चौडा नहुँदा साँघुरा सडकमा नगरवासी यात्रा गर्न बाध्य छन् । बजारका मुख्यचोकहरुमा दैनिकजसो सवारी जाम र दुर्घटनाका दृश्य देखिन थालेका छन् । सडक विस्तारमा प्रदेश सरकारको पनि अवरोध कायम रहेको छ । सडक विस्तार गर्नुहुँदैन भन्दै नारा लगाउने समूहका अगुवा डोरमणि पौडेल बागमती प्रदेशको मुख्यमन्त्री बने । सडक विस्तार गरियो भने डोजरमुनी सुत्छौँ, रगतको खोला बग्छ भन्दै अवरोध सृजना गरेका उनले मुख्यमन्त्री भएपछि पनि विस्तारको काममा अवरोध खडा गरी नै रहे ।

त्यसो त, पूर्वपश्चिम राजमार्गसंग जोडिएको मुख्य सडक क्षेत्रमा नै उनकोे ५ तले घर छ । आफ्नो घर जोगाउन र नगरवासीको सहानुभूति मत प्राप्त गर्ने उदेश्यका साथ सडक विस्तारको काममा अवरोध खडा गरेको आरोप उनीमाथि छ । सडक विस्तारको काममा अवरोध गरेका मुख्यमन्त्री पौडेलले हेटौंडाको मुख्य बजार क्षेत्रबाट सडक विस्तारको काम गर्न नहुने भन्दै बैकल्पिक सडक निर्माणको विषय प्रदेश सरकारले जोडतोडका साथ उठाउने अभिव्यक्ति दिँदै हिडेका थिए ।

उनले सरकारको साँढे ३ बर्ष नेतृत्व गरे । तर, न हेटौंडा बजार क्षेत्रको सडक विस्तार भयो, न मुख्यमन्त्रीले भनेजस्तै बैकल्पिक सडक निर्माण भयो । अहिले प्रदेश सरकार परिवर्तन भएको छ । भदौ २ गतेबाट अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व संहालेकी छिन् । सडक विस्तारको सन्दर्भमा उनको पहलकदमी कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ ।

हेर्नुहोस् एडिबीले एक महिना अघि जारी गरेको सूचना