माओवादी स्थायी समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १४:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक मंगलबा दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार, सो बैठकमा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने कार्यसूची रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । सोही सम्मेलनलाई ध्यानमा राख्दै आवश्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको हो ।

माओवादीले सम्मेलनको तयारी स्वरुप देशैभर चार महिना संगठन विस्तार अभियान संचालन गर्दै आएको छ । साथै आज बस्ने माओवादी स्थायी समिति बैठकमा सरकार विस्तार, नेकपा एमालेद्वारा संसदमा गरिएको अवरोधलगायतका समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले गत आइतबार बोलाएका प्रतिनिधिसभा बैठकमा नेकपा एमालले आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेको भन्दै अवरोध गरेका थिए । सो बैठकमा नेकपा एमालेले गरेको अवरोध हटाउन नसकेपछि सभामुख सापकोटाले आज (मंगलबार) सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका थिए । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृतभएको छ ।

सभामुख सापकोटाले एमाले सांसदहरुको अवरोधकाबीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा बोल्दै सो परियोजना पास गर्न नहुने बताए ।

सभामुख सापकोटाले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ । साथै सभामुख सापकोटाले आगामी असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।