बागमती प्रदेशः अल्पमतको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।
नेकपा एमालेका प्रमुख सचेक दिपक निरौलाका अनुसार शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्न लागेकी हुन् ।
शाक्य गत भदौ २ गते मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । उनले सोही दिन केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णप्रसाद शर्मा खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी थिइन् ।
तर, सामाजिक विकासमन्त्री खनालले भने केही दिन अघि पदबाट राजीनामा दिएका छन् ।
एमाले परित्याग गरी बागमती प्रदेशका १३ जना सांसद माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा एकीकृत समाजवादीमा गएसंगै शाक्य अल्पमतमा परेकी हुन् ।
नेकपा एमालेको स्पष्ट बहुमत अर्थात ५६ सांसदमध्ये मतमध्ये अब एमालेमा ४३ मात्रै बाँकी छन् ।
