विपक्षी गठबन्धनले देशको राजनीतिमा असन्तुलन ल्यायो : डोरमणि पौडेल

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार १५:३६

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य डोरमणि पौडेलले विपक्षी गठबन्धनले देशको राजनीतिमा असन्तुलन ल्याएको बताएका छन् ।

आइतबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठकमा बेल्दै पौडेलेले विपक्षी गठबन्धनले केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण नै बदलेर देशको राजनीतिमा असन्तुलन ल्याएको बताएका हुन् ।

उनले पछिल्लो समय केन्द्रीयस्तरमा बनेको विपक्षी गठबन्धनले निष्ठाको राजनीति समाप्त पार्ने काम गरेको बताए ।

पौडेलले प्रदेश सरकार भौतिक विकासलाई केन्द्रीत हुन नहुने बताए । उनले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र सरकारले गरेका विकासको कामले सार्थकता पाउने बताउँदै जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र विकास गरेको ठहर हुने बताए ।

देशमा कायम रहेको तीन तहको सरकारको समन्वयमा विकासका योजनाहरु अघि बढाउनुपर्ने उनको भनाई छ । तीनै तहका सरकारका बीच समन्वयको अभावका कारण हरेक योजनाहरु दोहोरिने समस्याहरु झेल्नु परेका बताउँदै उनले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

उनले विकास निमार्णको काम गर्दा जनताबाट उठाएको करमा निर्भर नभइ स्थानीय तहहरुले वैकल्पिक स्रोतको खोजी गरी आन्तरिक आयलाई बढाउनुपर्ने बताए ।