‘जनताका अपेक्षा बुझ्न नसक्दा सरकार दैनिक परिवर्तन’
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझन नसक्दा सरकार दैनिक परिवर्तनको खेल भइरहेको बताएकी छन् ।
मुख्यमन्त्री शाक्यले आज (आइतबार) जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको समिक्षा बैठकको उद्घाटन सत्रमा वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताएकी हुन् ।
उनले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गरेकोले अस्थिरता कायमै रहेको बताइन् ।
राजनीतिक अस्थिरतालाई हटाउन संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई जोगाउनुपर्ने उनको भनाई छ ।
साथै उनले संविधानमा नै तीन तहका सरकारको अधिकार तोकिएको भए पनि सो लागू हुन नसक्दा जनभावना अनुकुलका काम र स्थायित्व हुन नसकेकोमा दुख व्यक्त गरिन् ।
मुख्यमन्त्री शाक्यले तीनै तहको सरकारले भौतिक पूर्वाधारलाई नै विकास ठानेर वार्षिक बजेटलाई त्यसतर्फ केन्द्रीत गर्न नहुने बताउँदै सबै क्षेत्रको समान विकास र विस्तार हुनुपर्ने बताइन् ।
