काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट दर्ता

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १७:०३

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

बिहिबार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत अहाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै महाधिवेशन रोक्न माग गरिएको जनाइएको छ ।

रिट आज सर्वोच्चमा दर्ता भएको र आइतबार यसको पेशी तोकिएको पोखरेलले जानकारी दिए ।

काँग्रेसले यसअघि नै भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरिसकेको छ ।