संकटमा अष्टलक्ष्मी शाक्य : एकीकृत समाजवादी रोज्ने कि मुख्यमन्त्री गुमाउने ?

तु खबर संवाददाता
२०७८ भाद्र १५,मंगलवार १९:३५
मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्य

मकवानपुर । नेकपा एमालेका १२ जना सांसदले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बागमती प्रदेश सरकार अल्पमतमा परेको
छ ।

मंगलवार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगी १२ जना एमालेका सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

बागमती प्रदेशमा कुल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये नेकपा एमालेको मात्रै ५६ जना सांसद थिए । केन्द्रमा एमाले विभाजनपछि माधव नेपालले नयाँ दल गठन गरेसंगै बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार जोगाउन अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको अफर दिइएको थियो ।

भदौ २ गते एमालेको हाइकमाण्डको निर्देशन बमोजिम डोरमणि पौडेललाई राजीनामा गराएर नेपाल पक्षकी शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

शाक्यलाई सरकारको नेतृत्व सुम्पिँदा नेपाल पक्षका सांसदहरु एमालेमै रहने र सरकार एमालेकै नेतृत्वमा रहने रणनीति अनुसार बागमती सरकार पुनः गठन गरिएको थियो ।

सरकारको नेतृत्व गर्न पाउने भएपछि शाक्यले माधव नेपाल पक्षमा लामो समयदेखि सम्हाल्दै आएको जिम्मेवारी चटक्कै छाडेर केपी ओलीको पक्षमा उभिएकी छिन् ।

मुख्यमन्त्री नियुक्त हुनासाथ उनी नेकपा एमालेको स्थायी समिति बैठक र अन्य एमालेका विभिन्न गतिविधिमा क्रियाशील रुपमा सहभागि भइरहेकी छिन् ।

तर, मंगलवार एमालेका १२ जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्यलाई राजनीतिक रुपमा ठूलो झड्का लागेको छ । उनलाई नेकपा एमालेको ५६ मध्ये अब ४४ जनाको मात्रै साथ रहेका कारण विश्वासको मत लिनुपर्ने संवैधानिक अड्चन देखिएको छ ।

केन्द्र सरकारमा एकीकृत समाजवादीले कांग्रेस र माओवादीलगायतका दलसंग गठबन्धन गरेको छ । सोही गठबन्धनलाई निरन्तरता दिएर केन्द्र र प्रदेश सरकार विस्तार गरिने रणनीति तय गरिएको छ ।

बागमती प्रदेशमा सरकार गठनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । नेकपा एमालेमा अब ४४ जना मात्रै सांसद् छन् । त्यो संख्या पनि भदौ २२ गतेसम्ममा घट्ने माधव पक्षका सांसदहरुले बताउँदै आएका छन् ।

यदि, शाक्यलाई एमालेबाट ४४ जनाकै साथ रहँदा पनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी र विपक्षी दल कांग्रेसले समर्थन गर्ने संभावना न्यून छ । प्रदेशमा अन्य स–साना दलको ७ र एक स्वतन्त्र सांसद गरी ८ सांसद छन् । उनीहरु सबैले शाक्यलाई नै समर्थन गरेको अवस्थामा पनि उनको पक्षमा ५२ मत मात्रै हुन्छ । तर, साना दलले पनि शाक्यलाई समर्थन गर्लान् भन्ने टुंगो छैन । अर्थात्, उनले विश्वासको मत प्राप्त गर्ने आधार रहँदैन ।

एता, नेकपा एकीकृत समाजवादी पार्टीले सांसद राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । गठबन्धनको सहमति अनुसार बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीलाई सरकारको नेतृत्व दिने सहमति भएको स्रोत बताउँछ । एकीकृत समाजवादीले नेतृत्व पाएको खण्डमा कांग्रेस र माओवादी पनि सरकारमा सहभागि हुनेछन् ।

मुख्यमन्त्री पद जोगाउन शाक्यलाई एउटा विकल्प भने बाँकी रहेको स्रोत बताउँछ । शाक्यले एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोजेमा माधव नेपालले उनकै नेतृत्वमा प्रदेश सरकार टिकाउन समन्वय गर्ने संभावना रहन्छ ।

उनी एकीकृत समाजवादीमा आउँदा एमालेमा रहेका माधव पक्षका बाँकी १० जना सांसद् पनि आफ्नो पक्षमा आउने भन्दै नेता नेपालले शाक्यले आफुलाई साथ दिए, प्रदेशको नेतृत्व हेरफेर नहुने बचन दिएको स्रोत बताउँछ ।