जिल्ला प्रशासन कार्यालयले आजबाट नियमित सेवा प्रवाह गर्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज (मंगलबार) बाट नियमित सेवा प्रवाह गर्ने भएको छ ।
प्रशासनले कोरोना संक्रमणको जोखिमका कारण धेरै भीडभाड नहोस् भन्ने उद्देश्यले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै आजबाट नियमित सेवा प्रवाह गर्न लागेको हो ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाइएको जनाएको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्चित दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जारी गरेको सूचनामा सेवाग्राहीको बढ्दो चाप र कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा प्रवाहमा लगाईएको आलोपालो व्यवस्था हटाइएको उल्लेख गरिएको छ ।
