मकवानपुरका विरोध खतिवडा मन्त्री बन्लान् ?

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार ०९:२९
file-photo

मकवानपुर । एमाले विभाजनपछि गठन भएको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद् विरोध खतिवडा मन्त्री बन्ने कसरतमा छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपालले गठन गरेको नेकपा एकिकृत समाजवादी पार्टी पनि सामेल हुने भएपछि मकवानपुरका खतिवडा पनि मन्त्री बन्ने चर्चा सुरु भएको हो ।

लामो समयदेखि माधव नेपाल खेमाको अग्रमोर्चामा रहेर काम गर्दै आएका खतिवडा नेकपा एकिकृत समाजवादी पार्टी गठन भएपछि केन्द्रीय सदस्य नियुक्त भए । ४ पटकसम्म प्रतिनिधिसभा सदस्य भइसकेका खतिवडालाई यसपटक भने नेता नेपालले मन्त्री बनाउने बचन दिएको स्रोत बताउँछ ।

सरकार विस्तारका क्रममा भागबण्डामा एकिकृत समाजवादीले कम्तिमा ५ वटा मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ । तर, खतिवडाको भागमा मन्त्रालय पर्छ वा पर्दैन त्यो भने टुंगोमा पुगिसकेको छैन ।

५ वटा मन्त्रालयमा पनि माधव पक्षले महिला जनजाती, दलित, मधेशीलगायतलाई समेट्नुपर्ने स्रोत बताउँछ ।

एमाले अध्यक्ष केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध सदनदेखि सडकसम्म खरो प्रतिवाद गर्दै आएका खतिवडाले पनि यसपटक कुनै एक मन्त्रालयको जिम्मेवारी पाउने चर्चा चुलिएको हो ।

त्यस्तै नेतृ रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, प्रेम आले र किसान श्रेष्ठ, डा. खिमलाल देवकोटा, नगेन्द्र चौधरी र डा. विजय पौडेललगायतका नेताहरु नाम पनि मन्त्रीको चर्चामा छ ।