एमालेद्वारा लुम्बिनी प्रदेशका सभामुख घर्तीको राजनीनामा माग

तु खबर संवाददाता
२०७८ भाद्र ६, आईतवार १६:४०
file-photo

लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीको राजनीनामा माग गरेको छ ।

प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएको भन्दै एमालेले सभामुख घर्तीको राजीनामा माग गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ गते र जेठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरे । एमाले संसदीय दलको सदस्यका हैसियतले नै बैठकमा उनीहरु सहभागी भएको ढकालको बताए ।

उनले एमाले संसदीय दललाई प्रदेशसभा सचिवालयबाट सांसद्द्वय शाही र वलीलाई कारबाही गर्न नमिल्ने उल्लेख गरिएको पत्र प्राप्त भएको भन्दै आपत्ती जनाए ।

पार्टीले कारबाही गरिसहेको सांसद् ओली र शाहीलाई सभामुखले राजनीतिक आवरणमा जोगाउन खोजेको एमालेको आरोप छ ।

‘प्रचलित कानुन, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकाले स्वतः पद अनुकुलको आचरण नगरेको प्रस्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन,’ ढकालले भने ।