चाडपर्व मनाउँदा भिडभाड नगर्न जिल्ला प्रशासन मकवानपुरको आग्रह

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार ०९:०७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले मकवानपुरमा आगामी भदौ १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई आग्रह गरेका छन् ।

जारी सूचनामा ‘मकवानपुरमा कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्ने जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्नु/नगराउनु हुन सर्वसाधारण सबैमा अनुरोध गर्दछौं ।’ उल्लेख छ ।