निषेधाज्ञा जारी गरेर सिडियो निदाएः निरिह जनतालाई सास्ती पहुँचवालालाई मस्ती
मकवानपुर । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले लामो समयदेखि निषेधाज्ञाको अवधि लम्ब्याउँदै आएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन ।
प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतमणि पाण्डेले निरिह जनतालाई निषेधाज्ञा भन्दै सास्ती दिँदै आएको भएपनि पहुँचवाला व्यक्ति र राजनीतिक दलका कार्यकर्ताले भने खुलेआम निषेधाज्ञा उल्लंघन गरिरहँदा पनि सुइँको समेत नपाएझैँ गरिरहेका छन् ।
सिडियो पाण्डेले साउन ३१ गते जारी गरेको सूचनाको बुँदा नम्वर २.७ मा शैक्षिक संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठि तालिम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन पूर्ण रुपमा बन्द गराउने उल्लेख छ ।
बुँदा नम्वर २.३ मा चिया तथा खाजा पसलहरु दिनको १० बजेदेखि ५ बजेसम्म होम डेलिभरीका लागि मात्रै संचालन गर्न पाउने भनी उल्लेख गरिएको छ ।
तर, दैनिक ज्याला मजदुरी गरेर खाने, गरिब तथा निरिह जनताबाट निषेधाज्ञाको सामान्य उल्लंघन हुँदा कडा कारबाहीको दायरामा ल्याउने प्रशासनले आँखै अगाडि ठूला, पहुँचवाला र राजनीतिक दलका कार्यकर्तालाई भने उल्टो संरक्षण गर्दै आएको छ ।
प्रशासनले तोकिएको अवधिभन्दा ५ मिनेट ढिलोसम्म चिया पसल खोलेकै कारण चिया पसलेलाई पक्राउ गरी ५ हजार देखि १० हजारसम्म जरिवाना लिँदै आएको छ । केही दिन अघि मात्रै विद्यालयको वस्तुस्थितिबारे जानकारी लिन विद्यालय पुगेका २ जना शिक्षकलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले १०/१० हजार जरिवाना गरेर छाडेको थियो ।
अचम्म त के छ भने, दैनिक गुजारा चलाउन चिया बेच्न बसेका सामान्य चिया पसलेले ५ मिनेट मात्रै ढोका बन्द गर्न ढिलो गर्दा पक्राउ गरी जरिवाना गर्ने प्रशासन राजनीतिक दलका कार्यकर्ताले खुलेआम निषेधाज्ञाको उल्लंघन गर्दा उल्टै संरक्षण गरिरहेको छ । सिडियो पाण्डेले साना दूनोट पसलेलाई हतकडी लगाउँदै आएका छन् भने ठूला उद्योगधन्दा निर्वाध संचालनमा छन् ।
मंगलवार मनहरी गाउँपालिका वडा नम्वर ३ लामिटारमा नेकपा एमालेले बृहत भेला गर्यो । भेलामा एमालेका नेताहरु गोविन्दराम चेपाङ, राजाराम स्याङतान, श्रीधर पोखरेल, कृष्णबहादुर चेपाङ, बालमुकुन्द ढकाल, सगुन स्याङ्तान लगायतको उपस्थिति थियो । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट पनि सोही कार्यक्रममा सहभागि थिइन् ।
ठूलो संख्यामा मानिसहरुको उपस्थििति थियो । तर, निरिह जनतालाई एकै स्थानमा २५ जनाभन्दा बढी भेला नगर्नु भन्दै तर्साउने प्रशासनले उक्त कार्यक्रम संचालन गर्न अनुमति दियो ।
यो त प्रतिनिधि घटनामात्रै हो, सिडियो पाण्डेको आँखै अगाडि, केही दिन अघि मात्रै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको विरोध प्रर्दशन, राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको र्यालीलाई प्रशासनले रोक्न सकेन । सोमबार सम्पन्न अनेरास्ववियु क्रान्तिकारी मकवानपुरको बृहत भेलालाई पनि प्रशासनले रोक्न सकेन
राजनीतिक दल मात्रै होइन बागमती प्रदेश सरकारले नै निषेधाज्ञा उल्लंघन गरिरहेको छ । मुख्यमन्त्री डोरमणि पौडेल आफैँ सयौँको संख्यामा मानिसहरु जम्मा पारी सम्बोधन गर्दै हिडिरहेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण भएका वा हुन लागेका संरचनाको शिलान्यास तथा उद्घाटन पनि बढो तामझामका साथ हुँदै आएको छ ।




