अझै सुरु भएन बागमती प्रदेशसभा बैठक

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १५:३३

मकवानपुर । बागमती प्रदेशसभा बैठक तोकिएको समयभन्दा २ घण्टा ढिलो बस्ने भएको छ । आज मंगलबार दिउँसो २ बजेको लागि आह्वान गरेको प्रदेशसभा बैठक २ घण्टा ढिलो बस्ने भएको नेकपा एमाले बागतमी प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभाको नियमावली संशोधनका लागि विपक्षी दलहरुले साझा धारणाका लागि सर्वदलिय बैठक बस्नु पर्ने माग गरेका थिए ।

प्रमुख सचेतक निरौलाका अनुसार, प्रदेशसभाको नियमावली संशोधनका लागि समिति गठन गर्नुपर्ने हुन्छ र उक्त समिति गठनका लागि सर्वदलीय बैठक बस्नुपर्ने अवस्था रहेकाले प्रतिपक्ष दलका केही नेताहरु जिल्ला बाहिरबाट आउनुपर्ने भएकाले सर्वदलीय बैठक बस्न ढिलो भएको हो ।

केही बेरमा नै सबै दलका नेताहरु बसेर प्रदेशसभा नियमावली संशोधन समितिका लागि नाम सिफारीस गरी सकेपछि प्रदेशसभा बैठक बस्ने प्रमुख सचेतक निरौलाले बताए ।

चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गरेको प्रदेशसभा बैठक झण्डै एक महिनापछि बस्न लागेको हो ।

यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।

्प्रदेशसभा बैठक आज र भोलि बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।