मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवानासहित कारबाही

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १८:३८
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले आज (आइतबार) निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ८८ जनालाई जरीवानासहित कारबाही गरेको छ ।

प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ८८ जनालाई जरीवानासहित कारबाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरीवाना गरिएको हो ।

यसैगरी, प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय संचालन गर्ने एक जनालाई रु १० हजार रुपैयाँ जरीवाना र पसल संचालन गर्ने एक जनालाई रु ५ हजार रुपैयाँ जरीवानासहित कारबाही गरेको जनाएको छ ।

त्यस्तै, मकवानपुर प्रहरीले आज मात्रै ३५१ थान मास्क वितरण गरेको जनाएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई कडाई गरेको छ ।

जिल्ला संक्रमितको संख्या बढेसँगै आइतबारबाट मालपोत कार्यालय हेटौंडा, मकवानपुर, नापी कार्यालय एक हप्ताका लागि बन्द भएको छ भने जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आलोपालोमा संचालन भएको छ ।