स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ३०,शनिबार १६:०८
file photo

बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।