लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार १५:२४
file-photo

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन बोलाइएको छ ।

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए । सरकारको समर्थनमा नेकपा (एमाले) का ३९ प्रदेशसभा सदस्य छन् ।

अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो । यसअघि विपक्षी गठबन्धनले गत वैशाख ६ र वैशाख २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।