मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवानासहित कारबाही

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार ०८:२२
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने र पसल संचालन गर्नेलाई जरीवानासहित कारबाही गरेको छ ।

मंगलबार मास्क नलगाई हिड्ने १२३ जना र पसल संचालन गर्ने १० जनालाई नियन्त्रणमा लिई जरीवानासहित कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, मंगलबार निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाई हिड्ने १२३ जनालाई जनहरी एक सय रुपैयाँ र पसल संचालन गर्ने १० जनालाई जनही ३ हजार रुपैयाँका दरले जरीवाना गरिएको हो ।

जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गर्दै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवानासहित कारबाही गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

साथै, जिल्लामा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीबाट ८९९ थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रशासनले जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा, मासु, तरकारी, फलफुल, दुध, पानी, अण्डा पसलहरु बिहान ५ बजेदेखी बिहान १० बजेसम्म खोल्न पाईने र गैरखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजेदेखी बेलुका ४ बजेसम्म संचालन गर्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आगामी साउन ३२ गतेसम्म जारी रहने जनाएको छ ।